पशुपतिनाथ क्षेत्र वरपर मासु, मदिरा र नसालु पदार्थ बिक्री र सेवनमा राेक

काठमाडाैं, २१ मंसिर । पशुपतिनाथ क्षेत्र वरपर मासु, मदिरा र नसालु पदार्थ बिक्री र सेवनमा राेक लगाएकाे छ ।

जिल्ला प्रशासनले कार्यालय काठमाडौंले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै प्रशासनले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क – उमाकुण्ड – गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।

बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ।