भक्तपुरमा ढकालको हत्या आरोपमा एक जना पक्राउ, प्र्यांक कल गरेर मागिएकाे थियाे दुई लाख

भक्तपुर, २० फागुन । भक्तपुरकाे सिपाडोलमा भएकाे गोपाल ढकालको हत्या अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरेको हो। सुवाल काभ्रेको मण्डेउपुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका हुन्।

ढकालको शव फागुन ११ गते सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै रोधन बस्नेतको गोठमा फेला परेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सुवाललाई सार्वजनिक गरेको हाे।

प्रहरीका अनुसार मृतक ढकाल फागुन ९ गते घरबाट तेल किन्न निस्किएका थिए। तर उनी त्यसपछि कोठामा फर्किएनन्।

ढकाल र सुवाल केही समयअघि मात्रै भट्टीमा भेटेका थिए। भट्टीमा रक्सी खानेक्रममा भेटेका उनीहरू फागुन ९ गते पनि भेटेको प्रहरीले जनाएको छ।

रक्सी खाएर उनीहरू दुबै जना सुवालको घरमा गएका थिए। त्यहाँ बसेर करिब पौने १२ बजेतिर सुवालले ढकालको फोनबाट उनकी श्रीमती रेनु ढकाललाई फोन गरेका थिए।

‘सँगै रक्सी खाएर उनीहरू सुवालको घरमा गएका रहेछन्। पौने १२ बजेतिर उनीहरूले प्र्यांक कल गरी श्रीमतीलाई अपहरणमा परेको भनेर दुई लाख रुपैयाँ माग गरेका रहेछन्’ प्रहरीले पत्रकार सम्मेलन भनेका छन् ।

तर त्यसैबीच साढे १२ बजेतिर श्रीमतीमाथि दुर्व्यवहार गरेपछि सुवालले इट्टा प्रहार गरी ढकालको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । हत्यापछि सुवालले ढकालको शव गोठमा लुकाएका थिए।

आफ्ना श्रीमान हराएको र फोन आएको भन्दै रेनुले प्रहरी वृत्त जगातीमा उजुरी गरेकी थिइन्। उक्त उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *