ललितपुरको गोदावारीमा डढेलो निभाउन गएका २ जना मध्य एकको मृत्यु

काठमाडौं, १८ वैशाख । ललितपुरको गोदावरीस्थित सामुदायिक आनन्दवनमा लागेको डढेलो निभाउन पुगेका २ जना मध्य गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गम्भीर घाइते भएका २ जना मध्य एक जनाकाे उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको हाे ।

गोदावारी-४ बडिखेलस्थित आनन्दवनमा लागेको डढेलो निभाउन मंगलबार बिहान पुगेका स्थानीय शंकर पहरीको उपचारका क्रममा मृत्यु भएको छ । भने अर्का रमेश पहरी सख्त घाइते भएका छन् ।

सुरक्षाकर्मीले डढेलो निभाउने क्रममा फसेका १५ जनाको सकुशल उद्धार गरेको छ ।

डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिममा परेपछि त्यहाँ रहेका ९३ जना बिरामीलाई पनि अन्यत्र सारिएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।