महिलाहरूले गरे नगरपालिकाकाे ७० प्रतिशत लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ, २४ वैशाख । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् ।

भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेका हुन् ।

महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताउनुभयो । रु २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

“सुरुमा करिब रु २५ लाख लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ ।” विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति रु २५ हजार लगानी गरेसँगै नगरपालिकाले सरफसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

उद्योगमा सात जनाले रोजगारी पाएका छन् । काठमाडौँबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आइएको समूहका सचिव सीता सुवेदीले बताउनुभयो ।

आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हाैं”, उहाँले भन्नुभयो, “भीमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सरफ उत्पादन गर्दै आएका छौँ । अहिले बजार पनि विस्तार गर्दै गएका छौँ ।” उहाँका अनुसार प्रतिकिलो रु दुई सय र रु तीन सय ५० गरी दुईथरीका सरफ उत्पादन हुँदै आएको छ ।

दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिनुभयो । “आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने योजना समूहको छ । घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँट गर्ने गरिएको सचिव सुवेदीले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यकपर्ने सरफ आयातमा कमी आएको उहाँको भनाइ छ । उत्पादित सरफलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उहाँले जानकारी दिनुभयो ।

भीमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *