पूँजी बजार पुनरुत्थान कार्ययोजना घोषणासँगै नेप्सेमा सकारात्मक माहोल, परिसूचक ४८ अंकले बढ्यो
काठमाडौँ, ३० भदाै । अर्थ मन्त्रालयले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ घोषणा गरेसँगै पूँजीबजारमा सकारात्मक माहोल देखिएको छ।
बाढी–पहिरोका कारण अर्थतन्त्र तथा जलविद्युत् क्षेत्रमा परेको असरलाई चिर्दै बजारमा व्यापक तरलता र लगानी बढाउने उद्देश्यले ल्याइएको २१ बुँदे कार्ययोजनाले आम लगानीकर्तालाई उत्साहित तुल्याएको छ।
सोमबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ९.१९ अंक, फ्लोट इन्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१३ अंकले बढेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३४७ स्टकको ७८ हजार ८६९ पटकको कारोबारमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कुन शेयर बढी, कुन घट्यो
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ। त्यस्तै सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा रहेको एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्रको मूल्य भने सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ, जसको ३२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन्। यसैगरी शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशतले बढेको छ। वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
