ललितपुरकाे बाफलमा आगलागीमा जलेर घाइते भएका ५ जना मध्य दुई बालिकाको मृत्यु
काठमाडाैं, २४ वैशाख। ललितपुरको बाफलस्थित एक टहरामा आगलागी भएर घाइते भएका एकै परिवारका ५ जना मध्ये दुई बालिकाको मृत्यु भएको छ ।
आगलागीमा परेर घाइते भएका ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
आइतबार ललितपुर महानगरपालिका-१७ बाफलस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए । उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ । आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य रहेकाेअस्पतालले जनाएको छ ।