सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाडाैं, २५ वैशाख । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग छलफल गर्दैहुनुहुन्छ ।

मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि शीर्ष नेताहरूलाई बैठकमा छलफलका लागि बाेलाउनुभएकाे हाे ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाउनुभएका छन् ।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाउनुभएकाे हाे।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएकाे थियाे तर बैठक निष्कर्ष विहिन टुङ्गिएकाे थियाे ।

सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग–अलग छलफल भएको थियो।

संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरू हुँदैछ।

संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहनुभएका छन् ।