नेपाल प्रहरीको ‘एसपी’ बनेर सर्वसाधारणलाई धम्क्याउने आलेमगर पक्राउ
काठमाडौँ, २५ असार । नेपाल प्रहरीको उच्च अधिकारीको नक्कली परिचय दिँदै सर्वसाधारणलाई धम्क्याउने र शान्ति सुरक्षामा खलल पुर्याउने एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्ने ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, आलेमगरले आफूलाई ‘अपराध महाशाखामा कार्यरत एसपी दिलीप घिमिरे’ भनी चिनाउने गरेका थिए। उनले सोही नक्कली ओहोदाको दुरुपयोग गर्दै सर्वसाधारणलाई विभिन्न बहानामा धम्क्याउने, अनावश्यक दबाब दिने र मानसिक हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आलेमगरले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरूसँगै विवाद गरी अभद्र व्यवहार प्रदर्शन गरेको र सामाजिक शान्तिमा खलल पुर्याएको अभियोग समेत लागेको छ। उनलाई काठमाडौँ महानगरपालिका–२६, सिंहदरबार अगाडिको सडक खण्डबाट विशेष टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ‘अभद्र व्यवहार’ शीर्षकमा पाँच दिनको म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।