नेपालको नक्शा नेपालको नोटमा छापिने भन्दा राष्ट्रपति निवास कराउँछ, कस्तो राष्ट्रपति निवासः ओली

काठमाडौं, २८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका विज्ञ सल्लाहकारले दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर समेत रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालले केही दिन अघि दिएको अभिव्यक्तिको ओलीले खुलेर आलोचना गर्नुभएको हो । एमाले संसदीय दलको बैठकमा सम्वोधन गर्दै ओलीले राष्ट्रियताको पक्षमा अत्यन्त गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्तिहरु आएको भन्दै आलोचना गर्नुभयो ।

‘नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्छ भन्ने एउटा खबर आयो,’ ओलीले भन्नुभयो, ‘तपाईंहरुले पनि सुन्नुभयो होला । नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्शा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालको नोटमा नेपालको नक्शा छाप्छ, उसको नक्शा छाप्ने होइन ।’
ओलीले अर्को देश भन्दै भारतको संकेत गर्दै थप उल्लेख गर्नुभयो– किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्शा छाप्ने कुरा आदि इत्यादि भनेर । कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ ।’

ओलीले त्यसलाई तमासाको संज्ञा समेत दिनुभयो । ‘यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार नेपाल देशले नेपालको नक्शा नेपालको नोटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, राष्ट्रियता कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरु उफ्रिन्छ भने यो तमासा होइन,’ उहाँले भन्नुभयो, ‘त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ? यो प्रश्न हामी संसदमा गम्भीरताका साथ उठाउँछौं ।’

प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ की राष्ट्रपति आफैँले जवाफ दिनुहुन्छ कि सल्लाहकार जहाँको हो त्यहीँ पठाउनुहुन्छ की के गर्नुहुन्छ ? भन्दै ओलीले प्रश्न समेत गर्नुभयो ।

‘यो साधारण कुरा होइन, हामी यसलाई गम्भीरताका साथ लिनछौं । नेपाल सरकारले आफ्नो गुमेको भूभाग समेटेर नक्शा छाप्यो, त्यसलाई संविधानको अंग बनायो, त्यो नक्शा हाम्रो हो, नेपालको नोट हाम्रो नोट हो, हामीले धरौटी धितो राखेर छाप्छौँ, अनधिकृत कागजको खोस्टो होइन,’ उहाँले भन्नुभयो, ‘हामीले हात्ती, गैँडा राखेका छौं । घोरल, मयुर, डाँफे, गाई राख्छौं । अरु पनि राख्न मन लाग्यो भने राख्छौं । नेपालको नक्शा किन राख्दैनौं । पहिला पहिला राजा, महाराजाका पनि राख्थ्यौं । अहिले राजाहरु हटे, नक्शा राख्नुपरेको छ । हरेक नेपालको नोटमा र हरेक सिक्का अनिवार्य राख्ने गर्नुपर्छ । नेपालको नक्शा नेपालको नोटमा छापिने भन्दा राष्ट्रपति निवास कराउँछ, कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ? के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छौं । नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछौं । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो । आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहन्छौं ।’