युक्रेनी सेनामा व्यापक फेरबदल: रक्षामन्त्रीको बर्खास्तीपछि सेनाप्रमुख सिर्स्की पनि पदमुक्त, द्रापाती नयाँ कमान्डर नियुक्त
एजेन्सी, ७ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेसँगै उत्पन्न राजनीतिक तथा जनअसन्तुष्टिका कारण युक्रेनी सेनाको शीर्ष नेतृत्वमा व्यापक फेरबदल गरिएको छ। विरोध प्रदर्शन चर्किएपछि सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिर्स्कीलाई पनि पदबाट हटाइएको छ र उहाँको स्थानमा युद्धमैदानका अनुभवी सैनिक कमान्डर मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ।
रक्षामन्त्री फेडोरोभको बर्खास्तीपछि सुरु भएको जनप्रदर्शन पछिल्लो समय सेनाप्रमुख सिर्स्कीको कार्यशैली र नेतृत्वविरुद्ध केन्द्रित भएको थियो। प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा संरचनागत सुधार गर्न माग गरेका थिए। निवर्तमान रक्षामन्त्री फेडोरोभ र सेनाप्रमुख सिर्स्कीबीच सैन्य रणनीति तथा आधुनिकीकरणका विषयमा लामो समयदेखि नीतिगत मतभेद रहँदै आएको बताइन्छ।
नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको व्यावहारिक अनुभव भएका र सैनिक सुधारप्रति सकारात्मक दृष्टिकोण राख्ने कमान्डरका रूपमा हेरिएको छ। किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोका अनुसार द्रापातीप्रति युक्रेनी सैनिकहरूमा उच्च विश्वास रहेकाले यो नियुक्तिले सेनाको मनोबल र लडाकू क्षमता बढाउन सहयोग पुग्नेछ। विश्लेषकहरूले यस परिवर्तनलाई सोभियत सैन्य चिन्तन बोकेको पुरानो नेतृत्व विस्थापित गरी नयाँ पुस्तालाई अघि बढाउने प्रयासका रूपमा अथ्र्याएका छन्।
पदमुक्त गरिनुभएका सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली अपनाएको र सीमित भूभाग रक्षाका लागि धेरै सैनिकको ज्यान जोखिममा पारेको आरोप लाग्दै आएको थियो। हालै ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा भएका दुर्व्यवहार र गैरयुद्धजन्य मृत्युका घटनाहरू सार्वजनिक भएपछि उहाँको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको थियो।
रक्षामन्त्रीका रूपमा करिब छ महिनाको कार्यकालमा फेडोरोभले युक्रेनी सेनाको प्रविधिगत आधुनिकीकरणलाई तीव्रता दिनुभएको थियो। उहाँले फाइबर–अप्टिक ड्रोन, ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र अग्रपङ्क्तिमा खटिने सैनिकका लागि उच्च पारिश्रमिक तथा सेवा सर्त सुधारका योजना अघि सार्नुभएको थियो, जसले सैनिक समुदायमा व्यापक समर्थन पाएको थियो।
युक्रेनको भ्रष्टाचारविरोधी कार्य केन्द्रकी बोर्ड सदस्य टेटियाना सेभचुकका अनुसार निर्वाचन स्थगित भएको वर्तमान अवस्थामा नागरिकले सडक प्रदर्शनलाई सरकारसमक्ष आफ्नो आवाज पुर्याउने प्रमुख माध्यम बनाएका छन्।
राष्ट्रपति जेलेन्स्कीले जनदबाबका कारण आफ्नो निर्णय परिवर्तन गर्नुपरेको यो पछिल्लो एक वर्षभित्रकै दोस्रो ठूलो घटना हो। कतिपयले यसलाई युद्धकालमा पनि युक्रेनमा लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको प्रमाणका रूपमा लिएका छन् भने केही विश्लेषकहरूले जनदबाबको आधारमा सैन्य नेतृत्व फेर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण नजिर बन्न सक्ने चेतावनी दिएका छन्।