दमकमा कार, मोटरसाइकल र साइकल ठोक्किँदा साइकलयात्रीको मृत्यु

झापा, ७ साउन । झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो। कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते हुनुभएको थियो। टाउको, दुवै हात तथा खुट्टामा गम्भीर चोट लागेका विष्टलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो।

यसैगरी, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।