होर्मुज जलमार्गमा इरानी सेनाद्वारा तीनवटा तेल ट्याङ्कर नियन्त्रणमा, अमेरिका र इरानबीच तनाव झन् तीव्र
एजेन्सी, ७ साउन । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज जलमार्ग पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्करहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका मध्ये एउटा ट्याङ्करमा विस्फोट भई आगलागी भएको बताइएको छ।
इरानी सेनाका अनुसार अमेरिकी पक्षको प्रलोभन र उक्साहटमा परी ती ट्याङ्करहरूले होर्मुज जलमार्गको दक्षिणी क्षेत्रमा तय गरिएको मार्गभन्दा फरक बाटोबाट जबर्जस्ती अघि बढ्ने प्रयास गरेका थिए। इरानी सञ्चारमाध्यमहरूले सम्झौताविपरीत र इरानको सहमतिबिना जलमार्ग पार गर्न खोज्ने जुनसुकै जहाजले यस्तै परिणाम भोग्नुपर्ने सैन्य विज्ञप्तिलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।
यसैबीच, अमेरिकी क्षेप्यास्त्रहरूले पश्चिमी इरानको अहवाज, रामसिर, एन्डिमेस्क तथा दक्षिणी इरानको बुशेहर आणविक ऊर्जा संयन्त्र नजिकैको पावर स्टेसन क्षेत्रहरूमा प्रहार गरेको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। इराकी सीमा नजिकैको शालमचेह सहरमा भएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यस सैन्य कारबाहीको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावत गर्ने गैरसैनिक नाविक र व्यावसायिक जहाजहरूमाथि खतरा उत्पन्न गराउने इरानी क्षमतालाई कमजोर बनाउनु रहेको स्पष्ट पारेको छ। हाल दुवै पक्षबीच होर्मुज जलमार्गको नियन्त्रण र प्रभावलाई लिएर द्वन्द्व चलिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरानले जहाजहरू रोक्ने प्रयास गरेमा त्यहाँका रणनीतिक पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिनुभएको थियो।
यसको प्रतिवाद गर्दै इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानले आत्मरक्षाको नीति अपनाउने स्पष्ट पार्नुभएको छ। उहाँले देशको पूर्वाधार र समग्र सुरक्षामाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिनुभयो।