जेठका लागि बैंकहरूले घटाए ब्याजदर
काठमाडौं, ३१ वैशाख । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएर नयाँ सूची सार्वजनिक गरेका छन् ।
वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम गरिएकाे छ । बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटाएकाे हाे ।
बैंकरूले बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण ब्याजदरहरू समायोजन गरिरहेका छन् । नयाँ सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।
त्यस्तै जेठ महिनामा ९ बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका छन् । ३ बैंक ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन् ।
राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।
जेठको लागि बैंकहरूले प्रकाशित गरेको मुद्दती निक्षेपको ब्याजदर:
एभरेस्ट ६.५
लक्ष्मी सनराइज ७
नबिल ६.७५
नेपाल ६.७५
इन्भेस्टमेन्ट मेगा ७
प्रभु ७.५
सानिमा ६.९
सिद्धार्थ ७
स्टान्डर्ड चार्टर्ड ७
एनएमबी ७.८
एनआईसी एसिया ७.८
हिमालयन ७.५
ग्लोबल आईएमई ७.५
कुमारी ७.२६
माछापुच्छ्रे ७.२५
सिटिजन्स बैंक ७.५