करिव ८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं, ३ जेठ । करिव ८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् ।

बिहीबार नेपाल प्रहरीको लागूऔषध ब्यूरोले कोकिनसहित तीन विदेशी महिला पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल रहेका छन् ।

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट २ किलो ६५४ ग्राम कोकिन बरामद गरिएको छ । बरामद गरिएको कोकिन ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको रहेकाे प्रहरीले जनाएकाे छ ।

बैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो । उनको तलासी गर्दा निजको पेटभित्र निलेको अवस्थामा केही रहेको हुनसक्ने आशंकामा नेपाल प्रहरी अस्पताल महाराजगंज परिक्षण गर्दा कोकिन भेटिएको थियो ।

सेतो प्लास्टिकले ऱ्यापिङ गरी निलेर पेटमा ल्याइएका १ केजी २६० ग्राम बराबरको ९० वटा कोकिनका क्यापसुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको शुटकेशमा ६३ वटा प्लाष्टिकले र्यापिङ गरिएका १ किलो ३९४ ग्राम कोकिन फेला परेको थियो ।

त्यस्तै भारतीय नागरिक पललाई जेठ २ गते धोबिचौरबाट पक्राउ गरिएको थियो । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।