सिंहदरबारमा आशिका जङ्गिदाँ सुनिता डंगोलको शालीन संवाद
काठमाडौं, ५ भदौ । सुनिता डंगोल अहिले काठमाडौं महानगरपालिकाको कार्यबाहक मेयरको पदमा हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह हुँदा उहाँ उपमेयर हुनुहुन्थ्यो । काठमाडौं महानगरपालिकाका मेयर साह अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ । साह मेयर भएका बेला पनि महानगरपालिकाका बैठकमा बेलाबखत असमझदारी हुने गथ्र्यो त्यतिबेला डंगोलको समन्वयकारी भूमिका समस्या समाधान गर्ने अचूक उपायहरु बनेर देखा पर्थे ।
हरेक समस्यालाई चर्को स्वरले बोलेर र जिद्धि गरेर होइन शालीन ढंगले समन्वयकारी भूमिका खेल्ने र समस्याको समाधान खोज्ने उहाँको शैलीको त्यतिबेला पनि खुश प्रशंसा हुने गथ्र्यो । अहिले कार्यबाहक मेयरको भूमिकामा रहेका बेला पनि उहाँले त्यहि समन्वयकारी भूमिकाकै शैलीलाई निरन्तरता दिदैँ आएका कारण महानगरपालिकाका हरेक कार्यपालिका र नगरसभाका बैठक विना तनाब सम्पन्न हुने गरेका छन् ।
महानगरपालिकामा मात्रै होइन अन्य बैठकहरुमा पनि उहाँको शालीन शैलीले धेरैको ध्यान तान्ने गर्छ । आज काठमाडौं उपत्यकाको वर्षौं पुरानो र जटिल बञ्चरेडाँडा फोहोर व्यवस्थापनको छलफल कार्यक्रममा सांसद आशिका तामाङले आफ्नो पुरानै शैलीलाई निरन्तरता दिदैँ भाँडभैलो गरेपछि त्यहाँ सवाल जवाफ भयो । उहाँ र ललितपुरका मेयर चिरिबाबु महर्जनबिच त भनाभन नै भयो । निकै चर्काचर्कीपछि तामाङ बैठकबाट उठेर हिँड्नुभयो ।
त्यहाँ पनि कार्यबाहक मेयर डंगोलले उहाँलाई सम्झाउने प्रयास गर्नुभएको थियो । रास्वपा सांसद आशिका तामाङको प्रस्तुतिपछि डंगोलले आफूले सोचेजस्तो अरूले नबोल्दा जथाभाबी भन्ने र रिसाएर हिँड्ने गर्न नहुने भन्दै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । ‘यो सङ्घ हो, यो प्रदेश हो, यो स्थानीय हो, यसले गरेन, त्यसले गरेन भनेर दोषारोपण नगरौँ,’ उहाँले भन्नुभयो, ‘यदि हामीले समाधान खोज्नुको सट्टा पहिले झैँ एक अर्कालाई दोष मात्र लगाइरह्यौँ भने, त्यो फोहोरमा राजनीति गरेको हुन्छ । अब फोहोरमा राजनीति नगरौँ । समाधानतिर लागौँ । कसको सरकार, के सरकार, रातो, नीलो, हरियो, कालो कुन हो रङ्ग नहेरौँ । सबै कुरा छोडेर समाधान तिर लागौँ ।’
उहाँले काठमाडौँ महानगरपालिकाबाट गर्नुपर्ने जे–जे छ त्यो गर्नका लागि तयार भएको पनि स्मरण गराउनुभयो । ‘यहाँहरूले भन्दिनुहोला, हामी पनि हाम्रो इनपुट राख्न चाहन्छौँ । हामी डिसिजन मात्र सुन्दैनौँ, डिस्कसनदेखि नै जान्छौँ । हामी गर्नका लागि तयार छौँ । मलगायत यहाँ सबै पालिकाको प्रमुखज्यूहरू हुनुहुन्छ, हामी सबैजना तयार छौँ । तर यो ‘वे आउट’ को बाटोतिर नलागीकन दोषारोपणको खेल चाहिँ नगरौँ,’ उहाँले भन्नुभयो, ‘यसरी बैठकमा आफ्नो भनाइ राख्ने र अर्को वक्ताले आफूले भनेको जस्तो भनेन भने डिसरेस्पेक्ट गर्न पाइँदैन । यो डेमोक्रेसीको सुन्दर पक्ष नै हो कि वादविवाद हुन्छ । त्यही वादविवाद भित्रबाट संवाद खोज्नुपर्छ ।’
उहाँले आज समस्या भएर नै सबैजना भेला भएको भन्दै सबैले आफ्नो कुरा राखिरहँदा त्यसबाट समाधान के–हो भनेर निकाल्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मैले सोचेको जस्तो कसैले बोल्नु भएन भने रिसाउने, चर्केर जाने, जथाभाबी भन्ने हो भने समाधान नहुने भनाई राख्नुभयो ।
‘धेरै समयदेखि हामीले सुन्दै आएको फोहोरमा ठूलो राजनीति हुन्छ भनेर । अब त धेरै कुरा परिवर्तन भइसकेको छ । अब फोहोरमा राजनीति कसैले हिजो गर्नुभएको छ भने पनि छोडौँ, ऊ त्यो बैठक कोठाभित्र आउनु अगाडि छोडेर आऔँ । फोहोरमा राजनीति नगरौँ। फोहोरको साँच्चिकै नै समस्या छ भने समाधानतिर लागौँ,’ उहाँले भन्नुभयो, ‘तपाईँहरूले हिजोदेखि गर्नुभएको भनेर यो भाषा त अब सुन्दा सुन्दा सुन्दा सुन्दा हत्तु हैरान भइसकेको छ । हिजोदेखिको कुरा गर्ने हो भने म त धेरै हिजोदेखि आएको चाहिँ होइन । तर फोहोरको समस्याको समाधान गर्नुपर्छ भनेर प्रयासरत भन्ने हो ।’