नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्च अदालतमा
काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पार्टीको आसन्न १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुग्नुभएको छ।
संस्थापन पक्षले इतर समूहसँग आवश्यक सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको विरोधमा देउवा र खड्काले सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट निवेदन पेस गर्नुभएको हो। रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च अदालत पुग्नुभएको थियो। इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट दर्ताका लागि सर्वोच्चमा पेस भइसकेको जानकारी दिनुभयो।
संस्थापन पक्षले आगामी भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। यो कार्यतालिका एकलौटी ढङ्गले ल्याइएको भन्दै देउवा समूह र नेता डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाउँदै आएका छन्।
यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकताका विषयमा पुनरावलोकनको आदेश दिएको थियो। सो आदेशपछि संस्थापन पक्षले अन्य समूहहरूसँग पर्याप्त संवाद र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको इतर पक्षको आरोप छ।
यसैबीच, रिट दायर गर्नुअघि आजै बिहान निवर्तमान सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच चुनदेवीमा भेटवार्ता भएको थियो। दुई नेताबीचको छलफलपछि नै महाधिवेशनको कार्यतालिका विरुद्ध कानुनी उपचार खोज्ने निष्कर्षमा पुगिएको बुझिएको छ।