टप इण्ड टी–२० सिरिज: नेपाल ‘ए’ र एनटी स्ट्राइकबीचको खेल सुरु, टस हारेर नेपाल ब्याटिङमा

काठमाडौँ, ५ भदौ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टी–२० सिरिज’ अन्तर्गत घरेलु टोली एनटी स्ट्राइकविरुद्धको उद्घाटन खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गरिरहेको छ।

प्रतियोगितामा घरेलु टोली एनटी स्ट्राइकले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ‘ए’ ले ब्याटिङको निम्तो पाएको हो। ताजा अवस्थाअनुसार नेपाल ‘ए’ ले चार ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३० रन बनाएको छ।

आगामी भदौ १४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न सातवटा टोलीहरूको सहभागिता रहेको छ। जसमा नेपाल, बङ्गलादेश र न्यूजील्यान्डका युवा टोलीहरूका साथै अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा आबद्ध क्लबहरू सहभागी छन्। प्रतियोगितामा नेपाल ‘ए’ सँगै एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स (एचपी), होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरिया रहेका छन्।

यस सिरिजका लागि घोषित नेपाली टोलीमा अनिलकुमार शाह (कप्तान), कुशल भूर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।