देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न: गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान
काठमाडौँ, भदौ ५ । कृषि विभागले यस वर्ष देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो दर गत वर्षको तुलनामा १.९२ प्रतिशतले बढी हो । नेपालमा कुल १३ लाख ७० हजार हेक्टर जमिन धान खेतीका लागि योग्य मानिएकोमा हालसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ भने अन्य प्रदेशहरूमा पनि रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । कर्णाली प्रदेशमा ९८.५ प्रतिशत, मधेस प्रदेशमा ९८.१० प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत र बागमती प्रदेशमा ९७.८२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यसैगरी, कोशी प्रदेशमा ९७ प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्क छ ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार मधेस प्रदेश लगायतका कतिपय क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण सुरुवाती चरणमा रोपाइँमा केही ढिलाइ भएको थियो । यद्यपि, पछिल्लो समय मौसमी अनुकूलताका कारण रोपाइँको दरमा उल्लेख्य सुधार आएको उहाँले बताउनुभयो । अधिकांश स्थानमा खेतीका लागि आकासे पानीकै भर पर्नुपर्ने अवस्था भए तापनि यस वर्ष मनसुन सक्रिय र सुखद् रहेकाले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । अघिल्लो वर्षको तुलनामा रोपाइँको क्षेत्रफल र समयमै भएको वर्षाले धान उत्पादन सकारात्मक हुने विश्वास विभागले लिएको छ ।