नेप्से परिसूचकमा १० अङ्कले घट्याे, कारोबार रकम ४ अर्ब १६ करोडमा सीमित

काठमाडौँ, ५ भदौ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य अङ्कले बढेको नेप्से आज १०.६७ अङ्कले घटेर २,६१८.७२ विन्दुमा ओर्लिएको छ।
आज सेन्सेटिभ इण्डेक्स १.५४ अङ्क, फ्लोट इण्डेक्स ०.६१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अङ्कले घटेको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि केही संकुचन आएको छ।

बिहीबार रु ४ अर्ब ४० करोडको सेयर कारोबार भएको बजारमा आज ३४४ कम्पनीको ५९ हजार ८०५ पटकको कारोबारमा रु ४ अर्ब १६ करोड ७६ लाख १८ हजार बराबरको १ करोड २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु १०४ ले बढेर प्रतिकित्ता रु ७९७.६० मा अन्तिम कारोबार भएको छ। यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य करिब १४ प्रतिशतले बढेको छ। यता, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २६ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, सोलु हाइड्रोपावरको साढे २४ करोडभन्दा बढी र रिडी पावर कम्पनीको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये केवल एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *