विवादित संदेशमा महजोडीले मागे अष्ट्रेलियाबाट माफी, भने-अपर्झट बोल्दा त्रुटि हुन गयो
काठमाडौं, १४ जेठ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गर्नुभएकाे छ ।
वरिष्ठ हास्यकलाकार श्रेष्ठ र आचार्य अहिले अष्ट्रेलियामा हुनुहुन्छ । उहाँहरूले त्यतैबाट भिडिओ सन्देश जारी गर्दै दर्शकहरूसँग क्षमायाचना गर्नुभएकाे हाे ।
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उहाँहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै सिरोहिया निर्दोष रहेकाे प्रतिक्रिया दिनुभएकाे थियाे ।
उहाँहरूको अभिव्यक्ति पछिल्लाे समय सामाजिक सञ्जालमा निकै विवादमा बनेकाे छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउमा हास्यकलाकारद्वय लागेकाे भन्दै सामाजिक सञ्जालमा दुवैको आलोचना भएको छ ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूहरूबाट त्रुटि भएको स्वीकार गर्नुभएकाे छ । कान्तिपुर टीभीमा अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उहाँहरूकाे भनाइ छ ।
उहाँहरूले भन्नुभएकाे छ, अदालतमा विचाराधीन मुद्दाको विषयमा हामीले नबोलेको भएपनि हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं । हामीलाइ फेरी पहिलेकाे जस्तै माया गरिदिनु हाेला ।