पूर्वउपप्रधानमन्त्री पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौँ, १५ असार । पूर्वउपप्रधानमन्त्री, अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ। विभागले साेमबार म्याद थपका लागि पौडेललाई विशेष अदालतमा पेश गरेको हो।

गएको असार ८ गते सुर्खेतबाट जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएका पौडेललाई काठमाडौँ ल्याएर अनुसन्धान सुरु गरिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि उहाँलाई २० दिन थुनामा राख्न अदालतसँग अनुमति मागेको थियो। यसअघि गत असार ९ गते विशेष अदालतले पौडेललाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति (म्याद थप) दिएको थियो।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उहाँकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मङ्गलबार दोस्रो सुनुवाइ हुँदैछ। यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यस मुद्दामा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ।