लगातार छैटौँ दिन पनि घट्यो सेयर बजार, नेप्से १६ अङ्कले ओरालो लाग्दा कारोबार रकम खुम्चियो
काठमाडौँ, १५ असार । शेयर बजारमा नेप्से परिसूचक आज सोमबार पनि घटेर बन्द भएको छ। अघिल्लो साताको सुरुदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिँदै लगातार छैटौँ कारोबार दिन १६.५४ अङ्कले घटेर २,६३२.९६ विन्दुमा झरेको छ।
नेप्सेका अनुसार आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.८४ अङ्क, फ्लोट इण्डेक्स १.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अङ्कले घटेका छन्। गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार ३५१ कम्पनीका ४४ हजार ९४२ पटकको कारोबारमा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको ७६ लाख ९९ हजार कित्ता सेयर मात्र खरिदबिक्री भएको छ।
बजार घटे पनि यस दिन चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसरी सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्था रहेका छन्। अर्कातर्फ, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन सबैभन्दा बढी ५.८३ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, सोपान फर्मास्युटिकल्सको करिब ९ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक यस दिन घटेर राताम्मे भएको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १.३९ प्रतिशतले घटेको छ। यस्तै वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।