नेतृ आङ सान सुकी जीवितै रहेको ठोस प्रमाण दिन सैन्य सरकारसँग छोरा किम एरिसको माग
एजेन्सी, १५ असार । म्यान्मारकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले म्यान्मारको सैन्य सरकार (जुन्ता) लाई आफ्नी आमा जीवितै रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। गत अप्रिल महिनामा सुकीलाई कारागारबाट नजरबन्द (हाउस एरेष्ट) मा सारिएको भनी सेनाले गरेको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उहाँले सुकी अझै पनि राजधानी नेपिटोस्थित कारागारकै कठिन परिस्थितिमा बन्दी रहेको विश्वास व्यक्त गर्नुभएको हो।
लण्डनमा ‘क्योदो न्युज’ सँगको अन्तर्वार्तामा एरिसले सुकीलाई कारागारबाट आवासीय स्थानमा सारिएको भन्ने म्यान्मारको सैनिक प्रशासनको दाबी पुष्टि गर्ने कुनै ठोस प्रमाण नभएको बताउनुभयो। उहाँका अनुसार ८१ वर्षीया सुकी मुटुसम्बन्धी रोगका साथै उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पीडित हुनुहुन्छ। कारागारबाट भर्खरै छुटेका एक पूर्वबन्दीले दिएको विवरण अनुसार सुकीलाई राखिएको स्थानको भौतिक अवस्था अत्यन्त कठिन र स्वास्थ्यका दृष्टिले चिन्ताजनक रहेको एरिसले उल्लेख गर्नुभयो।
सन् १९९१ की नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् २०२१ को फेब्रुअरीमा म्यान्मारको सेनाले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो। यसअघि पनि सन् १९८९ देखि २०१० को अवधिमा सुकीले विभिन्न समयमा गरी करिब १५ वर्ष नजरबन्दमा बिताउनुभएको थियो। उहाँको दल ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी) ले आमनिर्वाचनमा ठूलो सफलता पाएपछि सन् २०१६ मा उहाँ म्यान्मारको वास्तविक राजनीतिक नेतृत्व (स्टेट काउन्सिलर) मा पुग्नुभएको थियो।
एरिसले आफ्नी आमासँग दुई वर्षअघि प्राप्त एउटा पत्र नै अन्तिम प्रत्यक्ष सम्पर्क रहेको बताउनुभयो। आमाको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उहाँले विश्व समुदायसँग अपिल गर्नुभएको छ। हाल म्यान्मारमा गृहयुद्ध चर्किंदै गएको अवस्थामा उहाँले म्यान्मारको सेनालाई उड्डयन इन्धन (एभिएसन फ्युल) को आपूर्ति रोक्नुपर्नेमा जोड दिनुभयो। यस किसिमको नाकाबन्दीले मात्र सैन्य जुन्तामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने उहाँको ठम्याइ छ।