होल्डिङ सेन्टरका सुकुम्बासीको व्यवस्थापन र मल-बीउ सुनिश्चित गर्न राष्ट्रियसभाका सांसदहरूकाे माग
काठमाडौँ, १५ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको उचित व्यवस्थापन, राष्ट्रिय धान दिवसको सन्दर्भमा मल-बीउको उपलब्धता र १८ वर्षमुनिका बालबालिकालाई दलको सदस्यता दिइएको कानुनी विवाद लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनसरोकारका विविध विषयहरू संसद्मा उठाएका हुन्।
बैठकमा बोल्दै सांसद चन्द्रबहादुर केसीले कीर्तिपुरको होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताइरहेका विस्थापित सुकुम्बासीहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो। सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा किसानहरूलाई आवश्यक पर्ने रासायनिक मल, बीउ र सिँचाइको अभाव हुन नदिन सरकार सचेत बन्नुपर्ने सुझाव दिनुभयो।
यस्तै, सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा लालपुर्जाको माग गर्दै आन्दोलनरत भूमिहीन किसानहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा देखिएको अवरोध खुलाउन र सुपारीको ‘डीएनए परीक्षण’ गर्ने अव्यवहारिक निर्णय तत्काल फिर्ता लिएर किसानलाई राहत दिन माग गर्नुभयो।
बैठकमा सांसदहरू जगत तिमिल्सिना र रोशनी मेचेले नेपालको संविधान र बालबालिकासम्बन्धी ऐन विपरीत अठार वर्ष पूरा नभएका नाबालिगहरूलाई राजनीतिक दलको आन्तरिक सदस्यता वितरण गरिएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो।
यस्तै, सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा सरकारी सेतो प्लेटको गाडीमा गैरकानुनी रूपमा रातो प्लेट राखी राज्यस्रोतको दोहन भइरहेको भन्दै छानबिनको माग गर्नुभयो। सांसद वासुदेव घिमिरेले हालै सञ्चालित कक्षा १२ (दशजोड दुई) को परीक्षा प्रणाली र प्रश्नपत्रमा देखिएका गम्भीर त्रुटिहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा अवस्थित दुईवटा उत्तरी नाकाहरू लामो समयदेखि बन्द हुँदा स्थानीय जनजीवन निकै कष्टकर बनेको उल्लेख गर्नुभयो। उहाँले स्थानीयको रोजीरोटी र पर्यटकीय पदमार्ग सुचारु गर्नका लागि ती नाकाहरू तत्काल खुलाउन गृह मन्त्रालयसमक्ष माग गर्नुभयो।