सोफिया नागरिकता पाउने विश्वको पहिलो रोबोट

साउदी अरब । सोफिया नाम गरेकी रोबोटलाई भेट्नुस्, जो साउदी अरेबियाको रियादमा पहिलो पटक सार्वजनिक रुपमा देखापरिन्।

सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ उनले तत्कालै साउदी अरेबियाको नागरिकता पाइन्।

तर त्यसम्बन्धी फोटो र भिडिओहरु सामाजिक सञ्जालमा देखिन थालेपछि धेरैले पहिल्यै साउदी महिलाभन्दा बढी अधिकार पाइसकेकी ती रोबोटबारे प्रश्न गर्न थाले।

हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियामा महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ विना नै दर्शकलाई अंग्रेजीमा सम्बोधन गरिन्।
उनले भनिन्, ूयसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो ।