पहिरोले गुल्मीमा घर पुरियाे, एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी, १५ असार । गुल्मीमा पहिराेले भर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

गुल्मीको मालिका गाउँपालिका ठाटीपोखरीमा पहिरोले घर पुरिँदा वडा नम्बर ६का एकैपरिवारका पाँचजनाको मृत्यु भएको हो।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले मालिका गाउँपालिका-६ ठाटीपोखरीका भेषबहादुर विकको घर पुरिँदा पाँच जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।

पहिरोमा ५५ वर्षीय घरमुली भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।

पहिरोले भेषबहादुरको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।