एसइईको नतिजा वैशाख अन्तिम साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ, १३ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनाको अन्तिम सातासम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम लगभग सम्पन्न भइसकेको छ भने अहिले परीक्षार्थीले प्राप्त गरेको अङ्क (प्राप्ताङ्क) कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने काम भइरहेको छ।

विगतका वर्षहरूमा परीक्षा सकिएको करिब तीन महिनामा मात्र नतिजा सार्वजनिक हुने गरेको थियो। तर, यस वर्ष करिब एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्यसहित बोर्डले काम अघि बढाएको हो। नतिजा छिटो निकाल्ने उद्देश्यले यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराइनुका साथै पर्याप्त जनशक्तिसमेत परिचालन गरिएको थियो।

प्राप्ताङ्क प्रविष्टिको काम सकिएपछि पुनः एकपटक रुजु (चेकजाँच) गरिनेछ। रुजु गर्ने क्रममा कुनै ठूलो प्राविधिक समस्या नदेखिएमा तोकिएको समयमै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ।

यस वर्षको एसइई परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। उक्त परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए, जसमा २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र रहेका छन्।

परीक्षा सञ्चालनका लागि देशभर कुल १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएका थिए। यसका अतिरिक्त, जापानमा रहेर नेपाली भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि त्यहाँ पनि एउटा परीक्षा केन्द्र तोकिएको थियो, जहाँबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए।