इराकको कुर्दिस्तानमा लगातार आक्रमण: दुई महिनामा ८ सयभन्दा बढी हमला, २० सर्वसाधारणको मृत्यु
एजेन्सी, १३ बैशाख । इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानमा पछिल्लो करिब दुई महिनाको अवधिमा ड्रोन र क्षेप्यास्त्रबाट ८ सयभन्दा बढी आक्रमण भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार फेब्रुअरी २८ देखि अप्रिल २० सम्म भएका यी आक्रमणमा परी २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।
कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्तिअनुसार यस क्षेत्रले मध्यपूर्वमा जारी द्वन्द्वमा आफूलाई तटस्थ घोषणा गरे तापनि अधिकांश आक्रमण नागरिक र निजी क्षेत्रलाई लक्षित गरी भएका छन्। जसका कारण मानवीय र भौतिकतर्फ ठूलो क्षति पुगेको छ।
यी आक्रमणहरूबाट एरबिल प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ मात्रै ४७७ वटा आक्रमण भएका छन्, जसमा ४१९ ड्रोन र ५८ क्षेप्यास्त्र आक्रमण समावेश छन्। एरबिलमा भएका आक्रमणमा परी १० जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन्।
कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन बहाना’ बनाएर नागरिक क्षेत्रमाथि निरन्तर प्रहार भइरहेको जनाएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा क्षेत्रीय तनाव चरम उत्कर्षमा पुगेको छ। सोही तनावका बीच इरान र उसका सहयोगी समूहहरूले मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली स्वार्थलाई लक्षित गर्दै निरन्तर जवाफी आक्रमण गरिरहेका छन्, जसको चपेटामा तटस्थ रहेको कुर्दिस्तान क्षेत्र पनि परेको छ।