चितवन पहिरो अपडेट : बेपत्ता बस र यात्रु खोज्न कुरिनटारबाट सशस्त्रकाे गोताखोर परिचालन
काठमाडौं, २८ असार । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बस त्रिशूली नदीमा खसाल्दा दुईवटा बस बेपत्ता भएकाे छ ।
बेपत्ता भएका दुईवटा बस खोज्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका-२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।
दुईवटा बसमा चालकसहित करिब ६५ यात्रु रहेको प्रहरीकाे अनुमान छ ।