सूर्यदर्शन सहकारी ठगी आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडाैं, २ कात्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालयबाटै लामिछानेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामिछानेले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । साथै उनले पक्राउ गर्नु भन्दा अघि कार्यकर्ता र सञ्चारकर्मीमाझ छाेटाे सम्बोधन गरेका थिए ।

सूर्यदर्शन सहकारीमा भएकाे बचतकर्ताको रकम अनियमितता गरी ग्यालेक्सी टीभीमा लगेर अपचलन गरेको खुलेपछि पीडितहरुले लामिछाने सहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा १८ जना विरुद्ध जाहेरी दिएको थियाे ।

लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।