कर्णाली नदीमा खसेको फोर्स गाडी र बेपत्ता यात्रुको खोजी तीव्र, प्रतिकूल मौसमले उद्धारमा कठिनाइ
कर्णाली, १९ असार । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा बिहीबार खसेको यात्रुवाहक ‘फोर्स’ गाडी र बेपत्ता यात्रुहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि पुनः गोताखोर टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना विशेषज्ञ गोताखोर बिहान ८ः०० बजेदेखि खोजी कार्यमा जुटेका हुन्।
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान ११ः३० बजेको समयमा सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको थियो। प्रहरीका अनुसार गाडीमा चालक र सहचालक (खलासी) सहित कुल सात जना सवार थिए। तीमध्ये तीन जना सुर्खेत बसपार्कबाट र दुई जना दैलेखको डुङ्गेश्वरबाट गाडी चढेका थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार दुर्घटनास्थल भिरको खोंचमा रहेकाले सिधै नदी किनार पुग्न कठिनाइ भएपछि अछाम जिल्लातर्फको किनारबाट खोजी कार्य भइरहेको छ।
“वर्षाका कारण नदीमा पानीको सतह बढेको, धमिलो पानी र बहाव तीव्र रहेकाले उद्धार चुनौतीपूर्ण बनेको छ,” डीआईजी सापकोटाले भन्नुभयो। दुर्घटनाकै दिन भिरमा अचेत अवस्थामा अड्किएका एक पुरुषको उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृतकको सनाखत हुन बाँकी छ।
बेपत्ता अन्य ६ जना यात्रु र गाडीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवण विकको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा खटिएको छ। बिहीबार दिउँसो करिब ५ घण्टासम्म गोताखोरले पानीभित्र खोजी गर्दा पनि फेला पार्न नसकेपछि शुक्रबार बिहानैदेखि पुनः अत्याधुनिक उपकरणसहित खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।