मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द, काठमाडौँमा खानेपानी अभाव हुन सक्ने

काठमाडौँ, १९ असार । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा आएको बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकामा आपूर्ति हुँदै आएको खानेपानी सेवा आज शुक्रबारदेखि बन्द भएको छ। मेलम्ची नदीको बाढीका कारण मुहानको पानी अत्यधिक धमिलो भएपछि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य अस्थायी रूपमा रोकिएको हो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा बाढी पसेर पानी लेदोसहितको धमिलो बनेपछि प्रशोधन प्रक्रिया जटिल बनेको छ।

“वर्षाका कारण मुहान क्षेत्रको पानी अत्यधिक धमिलो भएको छ,” प्रवक्ता चन्दले भन्नुभयो, “पानीको गुणस्तरमा सुधार आउनासाथ पुनः प्रशोधन प्रक्रिया सुरु गरी पूर्वनिर्धारित वितरण तालिका अनुसार उपत्यकामा पानी आपूर्ति सुचारु गरिनेछ।” यदि सो क्षेत्रमा निरन्तर वर्षा भइरहेमा उपत्यकामा पुनः पानी पठाउन केही समय लाग्न सक्ने उहाँले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *