फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका

नवलपरासी, २२ कात्तिक । बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ ।

मध्यविन्दु नगरपालिकाले फोहरको व्यवस्थापनसँगै जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको छ । पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो ।

यहाँ स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाका इन्जिनियर विवेक पोखे्रलले बताउनुभयो । स्थानीयस्तरमा सङ्कलित फोहरलाई वर्गीकरण गरी कुहिने फोहरलाई जैविक मलको रूपमा उत्पादन परीक्षण सफल भएको र यसलाई नियमित रूपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको इन्जिनियर पोख्रेलले बताउनुभयो ।

नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट प्रदान गरिने उहाँले बताउनुभयो । उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ ।

जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षणमा सहयोग पुग्ने, खाद्य उत्पादनमा टेवा पुर्याउने अपेक्षा रहेको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । हिजोआज कृषि उत्पादनका क्रममा धेरै रासायनिक मल प्रयोग गर्ने क्रम रहेकाले त्यसलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई बढाउनसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

मध्यविन्दु नगरपालिकाले–११, कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब रु चार करोड ३७ लाखको लागतमा फोहर व्यवस्थापनकार्य अघि बढाएको र यसैबाट जैविक मल उत्पादनसमेत सुरु गरिएको हो ।

मध्यविन्दुमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरबाट नै फोहरको वर्गीकरण अनिवार्य गरेको छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर सङ्कलन गर्ने गरिएको छ । यसरी सङ्कलित फोहरमध्ये नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने फोहोर छुट्टाएर बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको हो ।