आँखामा हाल्ने लेन्समा हामी आत्मनिर्भर भयौँ, ७० लाख निर्यात गर्न सफलः सन्दुक रुइत (भिडियोसहित)
काठमाडौं, ५ पुस । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले नेपाली व्यवस्थापन र नेपाली प्राविधिकको टिमले लामो प्रयासपछि आँखामा हाल्ने लेन्समा देशलाई आत्मनिर्भर बनाएर निर्यात पनि गर्न सकेको बताउनु भएको छ। राष्ट्रिय सभाको विद्यायन व्यवस्थापन समितिले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का सम्वन्धमा आज छलफलमा यस्तो बताउनु भएको हो ।
‘दशकौँको प्रयासपछि नेपाललाई मात्रै आत्मनिर्भर बनाएका छैनौँ । हामीले ७० लाख लेन्स संसारभर पठाएका छौँ,’ उहाँले भन्नुभयो, ‘यो गर्व गर्ने विषय हो । आँखाको नानीको प्रत्यारोप पनि हामीले १४ हजार भन्दा बढीको गरेका छौँ र हामी त्यसमा पनि आत्मनिर्भर छौँ । जहाँ दिए पनि स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्छ ।’
उहाँले बौद्धिक सम्पतिको रक्षा गर्न सक्छौँ भन्दै अहिलेसम्म पनि ‘तिलगङ्गा आँखा प्रतिष्ठान’ को व्यवस्थापन पक्ष बलियो रहेको दाबी गर्नुभयो । ‘यसलाई अझ बलियो बनाएर अघि बढ्न सक्ने क्षमता हामीसँग छ,’ उहाँले भन्नुभयो, ‘हामी विश्वविद्यालयको मान्यतामा जाँदै गर्दा स्थायित्व र विश्वसनीयताको कुरा पनि आउँछ । हामीले यो कुरालाई दशकौँदेखि प्रयोग गरेर हेरेका छौँ । हामी यो गुम्न दिने छैनौँ ।’
उहाँले तिलगङ्गा राज्यका लागि विश्वलाई चिनाउने एउटा चिनारी पनि हो भन्दै यसले अहिलेसम्म अनौपचारिक रुपमा पनि चिनाउने काम गरेको उल्लेख गर्नुभयो । ‘राज्यलाई मेरो आग्रह अहिलेसम्म हामीले गलत गरेको ‘मोडेल’ तिर नलैजाऔँ । हामीले के गर्दा राम्रो र स्वायत्व बनाउन सक्छौँ र चलाउन सक्छौँ र त्योसँगै राज्य र जनताका लागि फाइदा कसरी हुन्छ भन्ने ढंगले लागौँ,’ उहाँले भन्नुभयो, ‘स्थापनादेखि अहिलेसम्म हामीले प्रविधिमा राम्रो विकास गर्न सफल भएका छौँ ।’