थापाथलीमा खानेपानीको पाइप फुट्दा ५ लाख लिटर पानी खेर गयो, तत्काल मर्मत गरिने

काठमाडौँ, २० फागुन । आज बिहान थापाथलीमा खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार पाइप फुट्नुको कारणबारे अध्ययन भइरहेको छ। प्रारम्भिक अनुमानमा पानीको चाप धेरै भएका कारण पाइप फुटेको हुनसक्ने बताइएको छ। पाइप फुटेको थाहा पाउने बित्तिकै लिमिटेडको प्राविधिक टोलीले तत्काल मर्मत कार्य सुरु गरेको थियो।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको थियो।

लिमिटेडले थापाथलीमा फुटेको पाइपको व्यवस्थापन गरिसकेको र केही दिनमा पानी वितरण पूर्ववत् अवस्थामा फर्किने जनाएको छ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा र पानीको चापका कारण पनि पाइपमा समस्या आउने गरेको लिमिटेडको भनाइ छ।