राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समितिमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनित
काठमाडौँ, १६ असार । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सञ्चालक समिति सदस्यमा तीन जना प्रतिष्ठित अन्तर्राष्ट्रिय विज्ञहरूलाई मनोनयन गरेको छ। कोषकी अध्यक्षसमेत रहनुभएकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको नियमावली तथा ऐनको प्रावधान बमोजिम उहाँहरूलाई सदस्य पदमा मनोनयन गर्नुभएको हो।
कोषको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन मनोनित गरिएका अन्तर्राष्ट्रिय विज्ञहरूमा संयुक्त अधिराज्य (बेलायत) को हाउस अफ लर्ड्सका सदस्य एवं ‘यूके नेपाल ट्रस्ट’का अध्यक्ष लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात अमेरिकी संरक्षणविद् एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्रा. डा. विन्डी राइट हुनुहुन्छ।
मनोनित सदस्यहरूमध्ये लर्ड क्यामोस र डा. डाइनरस्टाइन लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणको इतिहाससँग जोडिनुभएको छ। लर्ड क्यामोसको परिवारको नेपालको राजनीतिक तथा कूटनीतिक इतिहाससँग पुरानो सम्बन्ध रहेको छ र उहाँले ब्रिटिस परोपकारी संस्थामार्फत नेपालको वातावरण संरक्षणमा योगदान पुर्याउँदै आउनुभएको छ।
यसैगरी, डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक अनुसन्धान गर्नुभएको थियो। उहाँले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा काम गर्दै ‘तराई आर्क ल्यान्डस्केप’ (ताल) को अवधारणा विकास गर्नुभएको थियो।
अर्का सदस्य प्रा. डा. राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर प्राज्ञिक सहकार्य गर्दै आउनुभएको छ।