मध्यपूर्व द्वन्द्वका कारण विकासोन्मुख देशको विकास बजेट प्रभावित, शिक्षा र स्वास्थ्य क्षेत्र ओझेलमा: युएनडिपी

एजेन्सी, १६ असार । मध्यपूर्वमा जारी लामो सैन्य द्वन्द्वको नकारात्मक असर कम गर्न विकासोन्मुख देशहरूले चालेका आर्थिक कदमहरू निकै महँगो र बोझिलो बन्दै गएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एक अध्ययन प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार यस सङ्कट व्यवस्थापनका लागि बजेट खर्चिनुपर्दा ती देशहरूमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विकासका प्राथमिक क्षेत्रहरू ओझेलमा परेका छन्।

कम र मध्यम आय भएका देशहरूले इन्धनको मूल्यमा भएको अत्यधिक वृद्धिको असरबाट आफ्ना नागरिकलाई आंशिक रूपमा जोगाउन जीवाश्म इन्धनमा अनुदान, मूल्य सीमा निर्धारण र कर छुट जस्ता नीतिहरू लागू गरेका छन्। यद्यपि, विश्वका अधिकांश गरिब देशहरू हाल ऋण सङ्कटमा परेका वा यसको उच्च जोखिममा रहेकाले वार्षिक ऋणको ब्याज भुक्तानीमै सरकारी बजेटको ठूलो हिस्सा खर्च भइरहेको प्रतिवेदनमा उल्लेख छ।

युएनडिपीका प्रशासक अलेक्जान्डर डे क्रोले विकासोन्मुख देशहरू पहिलेदेखि नै ऋणको भारीमा थिचिएकाले द्वन्द्वको समयमा ऊर्जा आपूर्तिमा आएको अवरोधको नकारात्मक प्रभावबाट आफ्ना नागरिकलाई जोगाउन संघर्ष गर्नुपरेको बताउनुभयो।

“नयाँ विद्यालय, अस्पताल र स्वच्छ ऊर्जा प्रणाली निर्माणमा लगानी गर्नुपर्ने रकम अहिले अर्थतन्त्रलाई चलायमान राख्न मात्रै प्रयोग भइरहेको छ,” प्रशासक डे क्रोले भन्नुभयो, “कुनै पनि देशले आफूले सिर्जना नै नगरेको बाह्य सङ्कट व्यवस्थापन गर्न आफ्नो भविष्यको विकास र समृद्धि त्याग गर्न बाध्य हुनु दुःखद् पक्ष हो।”