अमेरिका-इरान युद्धविरामको प्रभाव: श्रीलङ्कामा इन्धनको मूल्य ६ प्रतिशतले घट्यो

एजेन्सी, १६ असार । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता गर्ने सहमति भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको मन्दीको प्रभावस्वरूप श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा ६ प्रतिशतसम्म कटौती गरेको छ। श्रीलङ्काको सरकारी पेट्रोलियम कर्पोरेसनले डिजेल र पेट्रोलको मूल्यमा उल्लेख्य कटौती गरेको हो।

नयाँ मूल्यसूची अनुसार श्रीलङ्कामा डिजेलको मूल्य प्रतिलिटर २५ रुपैयाँले घटाएर ३८२ रुपैयाँ कायम गरिएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ निर्धारण गरिएको छ। अमेरिका र इरानबीच ‘होर्मुज जलसन्धि’ पुनः सञ्चालन गर्ने सहमति भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएकाले आन्तरिक बजारमा पनि मूल्य घटाइएको त्यहाँको पेट्रोलियम कर्पोरेसनले जनाएको छ।

यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि ढुवानी लागत बढेको भन्दै श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य एकैपटक झन्डै ५० प्रतिशतले बढाएको थियो। इन्धनको मूल्यवृद्धिसँगै उच्च आयात र सञ्चालन लागत सन्तुलनमा राख्न त्यहाँ बिजुलीको शुल्कसमेत एक तिहाइले वृद्धि गरिएको थियो।

श्रीलङ्का आफ्नो देशका लागि आवश्यक सम्पूर्ण कच्चा तेल र ऊर्जा उत्पादनका लागि आयातित कोइलामाथि पूर्ण रूपमा निर्भर रहने भएकाले मध्यपूर्वको द्वन्द्वले उसको पहिले नै नाजुक रहेको आर्थिक प्रणालीलाई गम्भीर सङ्कटमा धकेल्ने चेतावनी अर्थविद्हरूले दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *