प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षा फौजबाट थप दमन, सिंहदरबारलाई पीडा सुनाउन सुस्तावासी काठमाडौंमा

 

काठमाडौँ, १६ असार । सुस्तावासीका नाममा केन्द्रमा राजनीति हुन्छ । तर, सुस्तावासीका आफ्नै कथा छन् अनि आफ्नै पीडा । राज्य सञ्चालकहरु प्वाक्क बोलिदिने बोलीले पनि सुस्तावासीको मन भतभती पोलिदिन्छ ।

यहाँ केन्द्रमा नेताहरुले एकथोक बोलिदिन्छन् अनि पीडाचाँहि सुस्तावासीले भोग्नुपर्छ । यो सुस्तावासीको नियती नै बनेको छ । हो । केही समय अघि संसदमा प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकको रोष्टममा उँभिएर ‘ तपाईँहरुलाई अचम्म लाग्ला मलाई पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा भयो ।

नेपालले पनि भारतीय भूमि मिचेको छ ।’ प्रधानमन्त्री साहका ती अभिव्यक्तिसँगै अर्थात जेठ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फको भूमिमा प्रवेश गर्यो । एसएसबी नेपाल प्रवेश मात्रै गरेन । उस्ले स्थानीयलाई आतङ्कित बनायो । त्यो संयोग भन्ने वा नियोजित राज्यले नै जाने कुरा भयो । तर, त्यो घटनामा सुस्तावासी भारतीय सुरक्षा फौजसँग ज्यानको प्रवाह नगरी मैदानमा उत्रिए । तर, सरकारले त्यहाँको विषयमा एक शब्द पनि उच्चारण गरेन । बरु त्यसको निन्दा गर्दै सुस्तावासीले सरकारलाई ध्यानाकर्षण गराए ।
उनीहरुले सीमा सुरक्षा मात्र होइन नागरिकता, शिक्षा, स्वास्थ्य लगायतका समस्याका बारेमा समस्या समाधानसहितको पहलका लागि पनि सरकारसँग आग्रह गरे । तर, सरकाले उनीहरुलाई आशावादी हुने गरी कुनै आश्वासन दिएन ।

नेपाली भूमिको रक्षाका भारतीय सीमा सुरक्षा बलसँग सुस्तावासीले लड्दै आएको करीब ३८ वर्ष व्यतीत भैसक्यो । तर, उनीहरुका समस्याले अहिलेसम्म पनि समाधानको बाटो समाउन सकेका छैनन् । २०२२ मा तत्कालीन राजा महेन्द्रले सुस्तामा करिब ४ सय परिवारको बस्ती बसालेका थिए । भूपू सैनिकसहितका ती परिवार त्यतिबेलादेखि अहिलेसम्म सुस्ता आसपासमा उनिहरु बस्दै आएका छन् । २०३४ सालमा नारायणी नदीले धार परिवर्तन गरेर बस्ती बगरमा परिणत गरेपछि भने उनीहरु बिस्थापित भए । त्यसपछि भारतीय पक्षले लगातार अतिक्रमण गर्दै आएको छ भने सिमा स्तम्भ नभएका कारण नेपाल प्रवेश गरेर नेपालीलाई हैरानी दिदैँ आएको छ ।

४० हजार ९ सय ८० हेक्टर कुल क्षेत्रफल मध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको जानकारहरु बताउँछन् । १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोतभोग गर्न दिइएको छैन । सुस्ताबासीले अहिले ७ हजार ५ सय हेक्टर क्षेत्रफलको भूमि मात्रै जोतभोग गर्दै आएका छन् । सुस्तावासी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने भन्दै आएका छन् । तर, पछिल्लो समय प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्तिका कारण उनीहरु थप चिन्तित बनेका छन् ।

नयाँ परिवेशको सरकारले कुटनीतिक ढंगबाट समस्या समाधानको प्रयास गर्ला भन्ने आशामा रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा त्यो आशा विस्तारै निरासामा परिणत हुने खतरा देखेर अब सिंहदरबारलाई छेउबाटै आवाज सुनाउने भन्दै लालपुर्जा र नेपाली नागरिकताको सुनिश्चितताको माग गर्दै काठमाडौं आइपुगेका छन्।
वर्षौदेखि हैरानी खेप्दै आएका उनीहरु सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीले आफूहरूलाई झन निरन्तर दुःख दिन थालेपछि आफ्ना मागसहित काठमाडौं आएका हुन् । उनीहरुले आफूहरु नेपाली भूमिमा बसोवास गर्ने नेपाली नागरिक भए पनि लालपुर्जा तथा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको गुनासो गर्ने गरेका छन् । त्यसो त सरकारले आफूहरूका माग तत्काल सम्बोधन गर्नुपर्ने उनीहरुको भनाई छ ।

लामो यात्रा तय गर्दै काठमाडौं आइपुगेका उनीहरुले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गर्ने भएका छन् । ‘सुस्ता बचाउ अभियान’ लिएर काठमाडौं आएका उनीहरुले विभिन्न तीन बुँदे माग अघि सारेका छन् ।

संसदमा प्रधानमन्त्री साहले विवादास्पद अभिव्यक्ति दिएपछि नारायणी नदीको कटान रोक्न बनाइरहेको तटबन्ध निर्माणको काममा भारतीय पक्षबाट अवरोध भएको भन्दै उनिहरुले उक्त कार्यलाई तत्काल अगाडि बढाउन आग्रह गरेका छन् । त्यसैगरी भारतीय वन विभागले आफ्नो क्षेत्राधिकार भन्दै नारायणी नदीतर्फबाट तार बार निर्माण कार्य अघि बढाइ रहेको भए पनि त्यसबारे नेपाल सरकारलाई आवश्यक जानकारी नगराइएको उनिहरुको भनाइ छ ।