म्याड्रिड डर्बीमा रियल विजयी
म्याड्रिड, २१ फागुन । म्याड्रिड डर्बीमा रुपान्तरित भएको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा रियल म्याड्रिडले एट्लेटिको म्याडिडलाई २–१ ले हराएको छ । ब्राहम डियाजको दर्शनीय गोलको सहयोगमा रियल म्याड्रिड जित हासिल गर्न सफल भयो । खेलको ५५ औँ मिनेटमा डियाजले एट्लेटिको म्याड्रिडका दुई खेलाडीलाई छक्याएर घुमाउरो प्रहारमार्फत् निर्णायक गोल गरे । यसअघि, खेलेका सुरुआतमै रोड्रिगोको गोलबाट घरेलु टिम रियल म्याड्रिडले अग्रता बनाएको थियो । खेलको ३२ आँ मिनेटमा एट्लेटिकाका लागि युलियन अल्भारेजले गोल गरी खेललाई बराबरीमा ल्याए ।
एट्लेटिको म्याड्रिडसँग घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्ट्याएर क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम छ । तर च्याम्पियन्स लिगमा एट्लेटिकोविरुद्ध रियल सँधै हावी नै देखिन्छ । रियल म्याड्रिड सर्वाधिक १५ पटक च्याम्यिन्स लिग जित्ने टिम हो । सन् २०१४ र २०१६ मा एट्लेटिको म्याड्रिडलाई नै फाइनलमा हराएर रियल म्याड्रिड च्याम्पियन बनेको थियो । यसैगरी रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई सन् २०१५ मा क्वाटरफाइनल र सन् २०१७ मा सेमिफाइनलबाट विदा गरेको थियो । युएएफएका प्रतियोगितामा यी दुई टिम बिच भएको ११ भिडन्तमध्ये एट्लेटिको म्याड्रिडले तीन खेल मात्र जितेको छ । एपी