मधेशको विजयी सुरुआत
काठमाडौँ, २७ फागुन । कप्तान अनिल शाह, अलराउन्डर पवन सराफ र दिपेश दासले अर्धशतकीय पालि खेलेपछि मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशीलाई सजिलै १६५ रनले हराएर विजयी सुरुआत गरेको छ । सिद्धार्थनगर क्रिकेट रङगशालामा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले
निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो ।
कोशी विशाल लक्ष्य पछ्याउने क्रममा ३३ ओभरमा ११९ रनमै सीमित भयो । कोशीका लागि शकिब हकले २५, सुजन थपलियाले २४, फिरदोर अन्सारीले २१ र दिपेश कँडेलले २० रन बनाए । तेज बलर रुपेश सिंहले नौ ओभरमा २९ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । राजेश यादवले पनि तीन विकेटसहित शानदार बलिङ गरे ।
यसअघि पवनले ८५ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ९२ रन बनाएका थिए । अनिलले ७५ बलमा दस चौकासहित ७५ रन र दिपेश दास अविजित ५६ रनको पालि खेले । कोशीका लागि विपिन महतो र प्रकाश कार्कीले दुई–दुई तथा फिरदोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए ।
कोशीको यो लगातार दोस्रो हार भएको छ । कोशी पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।