टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
काठमाडौँ, २३ असार । नेपालका मुख्य दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम र एनसेलले आफ्नो थ्रीजी सेवालाई चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रिया अघि बढाएका छन् । पुराना प्रविधिलाई हटाएर उपलब्ध रेडियो स्पेक्ट्रम तथा नेटवर्क स्रोतलाई फोरजीको क्षमता विस्तार, ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) को गुणस्तर सुधार र भविष्यमा फाइभजी सेवा सञ्चालनमा उपयोग गर्ने रणनीतिअनुसार यस्तो कदम चालिएको हो ।
थ्रीजी सेवा बन्द भएपछि ग्राहकले थप तीव्र गतिको इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा र स्थिर नेटवर्क पाउने कम्पनीहरूको दाबी छ ।
नेपाल टेलिकम: आगामी दुई वर्षभित्र थ्रीजी पूर्ण बन्द हुनेछ । नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा देशभरबाट थ्रीजी सेवा पूर्ण रूपमा हटाउने लक्ष्य राखेको छ । टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार विश्वव्यापी अभ्यासलाई पछ्याउँदै नेपालमा पनि यो सेवा हटाउन लागिएको हो ।
“हाम्रा तीन हजारभन्दा बढी बिटिएस टावरमध्ये केहीबाट थ्रीजी हटाउन सुरु गरिसकेका छौँ,” लामिछानेले भन्नुभयो, “हाल चितवनलाई ‘क्लष्टर’ मानेर परीक्षण भइरहेको छ । यसको नतिजाका आधारमा देशभर थ्रीजी हटाउने प्रक्रियाले गति लिनेछ ।” टेलिकमले हाल २१०० मेगाहर्ज ब्यान्डमा थ्रीजी सेवा दिइरहेको छ । अब सोही फ्रिक्वेन्सी फोरजी र फाइभजीका लागि उपयोग गरिनेछ ।
निजी क्षेत्रको प्रमुख सेवा प्रदायक एनसेलले असार २२ गतेदेखि पाँच प्रदेशका १३ जिल्लामा रहेका २२० भन्दा बढी टावरबाट थ्रीजी सेवा बन्द गरेको छ । एनसेलले सन् २०२७ को पहिलो त्रैमासिकसम्ममा देशभरबाटै थ्रीजी पूर्ण रूपमा बन्द गर्ने कार्ययोजना बनाएको छ ।
एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार कम्पनीका कुल १ करोड ४१ लाख ग्राहकमध्ये मात्र ०.७ प्रतिशतले थ्रीजी प्रयोग गरिरहेका छन् । एनसेलले कोशीका उदयपुर, सङ्खुवासभा, धनकुटा, भोजपुर; मधेसको सप्तरी; कर्णालीका रुकुम पश्चिम र सल्यान; लुम्बिनीका रुकुम पूर्व र रोल्पा तथा बागमतीको मकवानपुरका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिसकेको छ ।
विज्ञहरूका अनुसार थ्रीजी प्रविधि पुरानो भइसकेको र यसले सीमित स्पेक्ट्रम ओगट्ने भएकाले यसलाई हटाउँदा नेटवर्कको कार्यक्षमता बढ्छ ।
उच्च गतिको डेटा: थ्रीजीको तुलनामा फोरजी धेरै गुणा छिटो हुन्छ ।
गुणस्तरीय भ्वाइस: फोरजी नेटवर्कमा आधारित भोल्टे सेवाले कुराकानीलाई अझ स्पष्ट बनाउँछ ।
फाइभजीको आधार: खाली भएको स्पेक्ट्रमले भविष्यमा फाइभजी भित्र्याउन सहज बनाउनेछ ।
थ्रीजी सेवा बन्द भएपछि केवल भ्वाइस सेवाका लागि टुजी पर्याप्त हुने भए पनि डाटा र गुणस्तरीय भ्वाइसका लागि फोरजी अनिवार्य हुनेछ ।
१. सिम अपग्रेड: अझै पनि पुराना थ्रीजी सिम चलाइरहेका ग्राहकले नजिकैको कार्यालयमा गई नि:शुल्क फोरजी सिम (USIM) साट्न सक्नेछन् । यसका लागि नागरिकता वा परिचयपत्र आवश्यक पर्नेछ ।
२. भोल्टे सक्रिय गर्ने: फोरजी चल्ने मोबाइल सेट भएका ग्राहकले आफ्नो सेटमा भोल्टे (VoLTE) सेवा सक्रिय गरी उच्च गुणस्तरको भ्वाइस सेवा लिन सक्नेछन् ।
दूरसञ्चार विज्ञहरूका अनुसार यो निर्णयले नेटवर्क सञ्चालन लागत घटाउन र सीमित स्पेक्ट्रमको प्रभावकारी उपयोग गर्न मद्दत पुग्नेछ, जसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनेछन् ।