राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३’ बहुमतले पारित
काठमाडौँ, २३ असार । राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले बहुमतका आधारमा विधेयक पारित गरेको घोषणा गर्नुभएको हो ।
विधेयक पारित हुनुअघि बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि परेका खर्च कटौतीका प्रस्तावहरूलाई बहुमतले अस्वीकृत गरेको थियो । सांसदहरू सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले छुट्टाछुट्टै शीर्षकमा खर्च कटौतीको प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रतिनिधिसभाबाट यसअघि नै पारित भइसकेको यो विधेयक राष्ट्रियसभाबाट पनि पारित भएसँगै आगामी आर्थिक वर्षका लागि सरकारी खर्च गर्ने बाटो खुला भएको छ ।