दैलेख सवारी दुर्घटना : कर्णालीमा बेपत्तामध्ये एक जनाको शव कैलालीमा फेला, चालकसहित तीन अझै बेपत्ता
सुर्खेत, २३ असार । गत असार १८ गते दैलेखमा भएको सवारी दुर्घटनामा परी कर्णाली नदीमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव कैलालीमा भेटिएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका–६ स्थित कर्णाली नदी किनारमा फेला परेको शव कालीकोटको पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरुवाको भएको पुष्टि भएको हो । मृतकका छोरा रवीन्द्र तिरुवाले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिनुभयो । शव फेला परेको पुष्टि इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले पनि गर्नुभएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको सवारी साधन दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडामा दुर्घटना भई कर्णालीमा खसेको थियो ।
दुर्घटनामा बेपत्ता भएका अन्य तीन जना र दुर्घटनाग्रस्त सवारी साधनको अवस्था अझै अज्ञात छ । प्रहरीका अनुसार कालीकोट रास्कोट नगरपालिका–२ की सिर्जना खड्का, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन् ।
बेपत्ताहरूको खोजीका लागि विगत पाँच दिनदेखि ठुलो संख्यामा सुरक्षाकर्मी र अत्याधुनिक उपकरण परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी करिब १०० जना जनशक्ति खोजी कार्यमा खटिएका छन् ।
खोजी कार्यलाई प्रभावकारी बनाउन गोताखोर टोलीले ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ‘ड्रोन’ र ‘बोरेस्कोप क्यामरा’ जस्ता उच्च प्रविधियुक्त उपकरणहरूको प्रयोग गरिरहेको डीएसपी विकले बताउनुभयो । यद्यपि, नदीको बहाव र भौगोलिक कठिनाइका कारण गाडी र बाँकी बेपत्ता व्यक्तिहरूलाई फेला पार्न चुनौती भइरहेको प्रहरीले जनाएको छ ।