बाँदर आतंकले आजित पाल्पालीले मागे भरुवा बन्दुक

पाल्पा, चैत १२ । पाल्पामा बाँदरको आतंक बढेपछि स्थानीय वन उपभोक्ताहरूले सरकारसँग भरुवा बन्दुक राख्न पाउने अनुमति मागेका छन्। बाँदरले खेतीपाती नष्ट गर्नुका साथै मानिसलाई समेत आक्रमण गर्न थालेपछि उनीहरूले सुरक्षाका लागि भरुवा बन्दुकको माग गरेका हुन्।

डिभिजन वन कार्यालयले आयोजना गरेको एक कार्यक्रममा सहभागी उपभोक्ताहरूले गाउँमा बाँदरका कारण असुरक्षा बढेको र खाद्यन्नसमेत नष्ट भएको गुनासो गरे। उनीहरूले बाँदर धपाउन विभिन्न उपायहरू अपनाए पनि सफल नभएपछि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका हुन्।

बगनासकाली गाउँपालिकाकी सरस्वती बस्यालले भनिन्, “गाउँमा पाकेका मकैका घोगा देख्न छाडिसक्यौं, फलफूल, तरकारी सबै बाँदर र बँदेलले खाएर नष्ट गरेका छन्। काखका साना छोराछोरीलाई घरमा छोडेर काममा जान डर लाग्छ। बाँदर घरमा आएर अँगेना र चुलाको छेउमा खानेकुरा खोज्न थाल्छन्। मानिसलाई हातमुख जोड्न मात्रै नभएर जीवन जोगाउनै गाह्रो हुन थालेको छ।”

भूपति भट्टराईले बाली जोगाउन बारीमा पहरा दिए पनि मुस्किल परेको बताए। उनले अन्न खान आएको बाँदरलाई धपाउँदा उल्टै मान्छेतिर जाइलाग्ने र आक्रमण गर्ने गरेको सुनाए। “बाँदरले बाली मात्र नभएर मानिसलाई आक्रमण गर्न थाल्यो, अब बाँदर नियन्त्रण गर्न सकिएन भने गाउँ सबै खाली हुने अवस्था आयो,” उनले भने।

सामुदायिक वन महासंघ तानसेन नगरकी अध्यक्ष भवानी गौतमले बाँदर नियन्त्रण चुनौतीका रूपमा रहेको बताउँदै यसको नियन्त्रणका लागि ऐन, नियम बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मानिसले बाँदर धपाउनेभन्दा पनि बाँदरले मानिस धपाउन थालेको बताए। उनले जिल्लामा बाँदरका कारण देखापरेका समस्या र ग्रामीण क्षेत्रका जनताले पाएको सास्तीका विषयमा सरोकार भएका निकायसँग छलफल गरी समाधान खोजिने बताए।

डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले सरकारले बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेकाले अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही नहुने बताए। उनले बाँदर धपाउने क्रममा मरे सम्बन्धित वडा कार्यालयमा जानकारी दिनुपर्ने बताए।