३५ जना घाइते र २ जनाकाे मृत्यु हुनेगरी भएकाे आजकाे घटनाकाे जिम्मेवारी कस्काे ?

काठमाडौँ, १५ चैत । पूर्वराजाका सर्मथकहरूले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा दुइजनाको मृत्यु भएकाे छ भने ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयद्वारा पत्रकार सम्मेलनकाे आयाेजना गरेर मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिनुभयो । साथै एभिन्युजका पत्रकार सुरेश रजकको प्रदर्शनकारीले लगाएकाे आगलागीमा परेर निधन भएको छ ।

झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् ।

आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उहाँको भनाइ छ ।