सात संघ विघटन गरी पूर्नगठन गरेको निर्णयमा एनओसीको ध्यानाकर्षण
काठमाडौ, ११ वैशाख । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बिहिबार सात संघ विघटन गरिएको भन्ने समाचारमा आफ्नो ध्यान आकर्षित भएको बताएको छ ।
एनओसीले प्रेस विज्ञप्ति जारी गर्दै गत चैत २९ गते युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकूद परिषदको १२२ औं बोर्ड बैठकबाट नेपाल ब्याडमिण्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ्ग संघ, नेपाल भारोत्तोलन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल ह्याण्डबल संघ र नेपाल जिम्न्याष्टिक्स संघ विघटन गरी पूनर्गठन गरिएको समाचार ध्यान आकर्षित भएको जनाएको हो ।
एनओसीका महासचिव राजीव श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ– यी सात संघ विघटन गरी पूर्नगठन गरिएको समाचार प्रकाशित नामावली हेर्दा यो निर्णय खेलकूद र खेलाडीको हितमा भन्दा नितान्त राजनैतिक आग्रह पूर्वाग्रहसँग सम्बन्धित देखिन्छ । यो कार्य खेलकूदको स्वयत्तता माथिको ठाडो हस्तक्षेप हो र नेपालको खेलकूद विकास ऐन २०७७ र नेपालको खेलकूद विकास नियमावली २०७९ र ओलम्पिक चाटरको विरुद्ध छ । तसर्थ यस्तो खेलकूद विकासको विरुद्ध गरिएको कार्य प्रति नेपाल ओलम्पिक कमिटी घोर विरोध र भ्रत्सना गर्दछौ । यो खेलकूदको कानून र ओलम्पिक चार्टर विरुद्ध गरिएका निर्णय सच्याई खेलकूद र खेलाडीको उज्वल भविष्य निर्माणको लागि अगाडी बढन नेपाल सरकार लाई हार्दिक अनुरोध गर्दछौ । नेपाल ओलम्पिक कमिटी नेपालको खेलकूदको विकास र खेलाडीहरुको हितको लागि नेपालको खेलकूद ऐन र ओलम्पिक चार्टर अनुसार सरकारसँग सहकार्य गर्न सधै तयार रहेको व्यहोरा अनुरोध गर्दछौ ।