पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्कीबास खण्ड अवरुद्ध
नवलपरासी, १९ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन सहज गराउन निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको हो । डाइभर्सन बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।
यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक बाटो प्रयोग गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताउनुभयो ।