पीएल सिंह मेमोरियल टी-२० कप : काठमाडौँ र वीरगञ्जको सानदार जित
काठमाडौँ, असार १० । काठमाडौँमा जारी ‘पीएल सिंह मेमोरियल अन्तरमहानगर टी-२० कप’ क्रिकेट प्रतियोगिताको १०औँ र ११औँ खेलमा वीरगञ्ज र काठमाडौँ महानगरपालिकाले सानदार जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा वीरगञ्जले ललितपुरलाई ७२ रनले र काठमाडौँले भरतपुरलाई ७ विकेटले पराजित गरेका हुन् ।
वीरगञ्जको विशाल योगफल र पवनको घातक बलिङ
प्रतियोगिताको १०औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वीरगञ्ज महानगरपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रनको विशाल योगफल खडा गरेको थियो । वीरगञ्जका लागि अनिल कुमार साहले अविजित ७४ रन र पवन सर्राफले ६८ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
२२३ रनको लक्ष्य पछ्याएको ललितपुर महानगरपालिका निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमा समेटियो । ललितपुरका लागि सक्रिय प्रताप कार्कीले सर्वाधिक २७ रन बनाए । बलिङतर्फ वीरगञ्जका पवन सर्राफले ४ विकेट लिएपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
ऋत गौतमको विस्फोटक ब्याटिङमा काठमाडौँको जित
आजै सम्पन्न ११औँ खेलमा काठमाडौँ महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित निकालेको छ । टस जितेर पहिले बलिङ रोजेको काठमाडौँले भरतपुरलाई २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा रोकेको थियो । भरतपुरका लागि प्रतीक श्रेष्ठले ५० रन जोडेका थिए भने काठमाडौँका नितेश कुमारले ३ विकेट लिएका थिए ।
१५९ रनको लक्ष्य पछ्याएको काठमाडौँले १७.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै १६२ रन बनाएर जित सुनिश्चित गर्यो । काठमाडौँका ओपनर ऋत गौतमले ५३ बलमा ९७ रनको विष्फोटक अविजित इनिङ खेल्दै टोलीलाई जित दिलाए । उत्कृष्ट प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द म्याच’ चुनिए ।
प्रतियोगिताको पृष्ठभूमि र पुरस्कार
असार ५ गतेदेखि सुरु भएको यस प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाका टोलीहरू सहभागी छन् । टिममा राष्ट्रिय टोली (सिनियर, ए, यू–१९ र यू–१६) बाट प्रतिनिधित्व गरिसकेका खेलाडीहरूको बाहुल्यता रहेको छ ।
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित यो प्रतियोगिता नेपालको आन्तरिक क्रिकेटमध्ये सबैभन्दा धेरै पुरस्कार राशी भएको खेल हो । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विधागततर्फ उत्कृष्ट बलर, ब्याटर र प्लेयर अफ द टुर्नामेन्टलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
आगामी खेलहरू
प्रतियोगिता अन्तर्गत भोलि बिहान ९ बजे काठमाडौँ र विराटनगर तथा दिउँसो १ बजे ललितपुर र पोखरा महानगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार साँझ ६:३० बजेदेखि फ्लडलाइटमा खेलाइने आयोजकले जनाएको छ ।