वीरेन्द्रनगर नगरपालिकाले ल्यायाे ४ अर्ब ७१ करोडको बजेट: पुँजीगततर्फ ६४ प्रतिशत विनियोजन
सुर्खेत, १० असार । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले आगामी वर्षका लागि कुल ४ अर्ब ७१ करोड २ लाख ७२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाख रुपैयाँले बढी हो। नगरपालिकाले यसपटक विकास निर्माण (पुँजीगत खर्च) लाई विशेष प्राथमिकतामा राखेको छ।
पुँजीगत खर्च (विकास): ३ अर्ब २ करोड ७० लाख रुपैयाँ (कुल बजेटको ६४ प्रतिशत)। चालु खर्च: १ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ।
नगरपालिकाले बजेटको ठुलो हिस्सा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट बेहोर्ने लक्ष्य राखेको छ: सङ्घीय सशर्त अनुदान: २ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान: २४ करोड ६० लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक आय: ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदान: ५० करोड ३५ लाख ७२ हजार रुपैयाँ, र सामाजिक सुरक्षा अनुदान: ३४ करोड रुपैयाँ रहेका छन् ।
उपप्रमुख खनालका अनुसार बजेटले खानेपानी र पूर्वाधार विकासलाई विशेष जोड दिएको छ। प्रमुख विनियोजन यसप्रकार छ:
भेरी पम्पिङ आयोजना: खानेपानी सुशासन र पूर्वाधार प्रवर्द्धनका लागि १८ करोड रुपैयाँ।
वडास्तरीय योजना: १६ करोड ६७ लाख रुपैयाँ।
सामाजिक सुरक्षा कार्यक्रम: ३४ करोड रुपैयाँ।
तलब भत्ता र कार्यालय सञ्चालन: ३४ करोड रुपैयाँ।
नगर प्रमुख मोहनमाया ढकालले पेस गर्नुभएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न र सङ्घीय तथा प्रदेशका सशर्त आयोजनाहरू सञ्चालन गर्न ३ अर्ब ४४ करोड ८५ लाख रुपैयाँभन्दा बढी विनियोजन गरिएको उपप्रमुख खनालले जानकारी दिनुभयो। राजधानी सहरको रूपमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न र पूर्वाधार विकासलाई गति दिन यो बजेट कोशेढुङ्गा साबित हुने नगरपालिकाको विश्वास छ।